News / Article

डेढ अर्ब लगानी थपेर तयार भयो काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सय जनालाई रोजगारी

August 20, 2026 admin 0 Comments

भाटभटेनी ग्रुपको मुख्य लगानी रहेको काठमाडौं स्टिल प्राइभेट लिमिटेडले तयार गरेको नयाँ प्लान्टबाट उत्पादन थाल्ने तयारी गरेको छ।

नवलपरासीको तिलकपुरमा रहेको उद्योगको उत्पादन क्षमता दोब्बर बनाएर सञ्चालन गर्न लागिएको हो।

उद्योगको क्षमता विस्तारको लागि १ अर्ब ५० करोड रुपैयाँ लगानी थपिएको छ।

लगानी थपिएसँगै काठमाडौं स्टिलमा कुल लगानी २ अर्ब ५० करोड रुपैयाँ पुगेको काठमाडौँ स्टिलका उपाध्यक्ष किरण कुमार श्रेष्ठले बताए। २०६८ सालमा स्थापना भएको उद्योगले २०७० सालदेखि स्टिल उत्पादन गर्दै आएको छ।

यसअघि काठमाडौं स्टिलले भारतबाट बिलेट (छड उत्पादनको कच्चा पदार्थ) आयात गरेर छड उत्पादन गर्दै आएको थियो। अहिले वार्षिक करिब ६० हजार टन छड उत्पादन गर्दै आएको उद्योगले क्षमता वृद्धिपछि भने वार्षिक १ लाख ५० हजार टन छड उत्पादन गर्ने छ।

उद्योगको उत्पादन क्षमता सुधारको लागि काठमाडौं स्टिलले आधुनिक प्लान्ट जडान गरेको छ।

छडको बढ्दो बजार मागका कारण उद्योगको क्षमता वृद्धि गर्नुपर्ने छँदै थियो। भाटभटेनी ग्रुपले लगानी विविधीकरण गर्दै अघि बढाएका आन्तरिक परियोजनाका संख्या बढिरेहका छन्। त्यसबाहेक, सरकारले ठूला पूर्वाधार परियोजना अघि बढाइरहेको छ। पूर्वाधारका संरचना निर्माणमा छडको माग बढ्दो छ।

अर्कोतर्फ, भारतबाट बिलेट आयात गरेर छड उत्पादन गर्दा प्रतिस्पर्धी हुनसक्ने स्थिति भएन। बिलेट आयात गर्दा ५ प्रतिशत भन्सार तिर्नुपर्छ। तर, बिलेटको कच्चा पदार्थ ल्याउँदा २.५ प्रतिशत मात्रै भन्सार तिरे पुग्छ। उत्पादन प्रतिस्पर्धि बनाउन पनि छड उद्योगहरुलाई आफैँले बिलेट बनाउनुपर्ने बाध्यता आइपर्‍यो।

श्रेष्ठ भन्छन्, ‘हामीले सुरुमा बिलेटबाट उत्पादन गरिरहेका थियौँ। तर बिलेटमा प्रतिस्पर्धा गर्न त्यति सफल हुन सकेनौँ। भन्सार दरको फरकका कारण आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भयो। बजारमा प्रतिस्पर्धा गर्ने हो भने हामीले पनि सोहीअनुसारको बाटो समात्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं।’

सोही कारण उनीहरूले स्पन्ज आइरन ल्याएर त्यसबाट बिलेट उत्पादन गर्ने र छड बनाउने विकल्प रोजे। स्पन्ज आइरनभन्दा अगाडिको कच्चा पदार्थ, जस्तै आइरन ओर वा अन्य आवश्यक मेटेरियल नेपालमा पर्याप्त मात्रामा उपलब्ध छैन। ती सामान विदेशबाटै आयात गर्नुपर्छ।
बिलेट आफैँले बनाउने भएपछि नयाँ प्लान्ट चाहियो। ‘करिब दुई वर्षअघि प्रतिस्पर्धामा जानुपर्ने निष्कर्ष निकालेर नयाँ प्लान्ट स्थापना गर्ने निर्णय गरेका थियो। अहिले नयाँ प्लान्ट तयार भएको छ’, श्रेष्ठले थपे।

नवलपरासीमा उद्योगको आफ्नै ६ बिघा जग्गा छ।

काठमाडौं स्टिलले तयार गरेको प्लान्टमा ग्राहकलले चाहेअनुसारको गुणस्तरमा छड उत्पादन गर्न सकिने प्रविधि जडान भएको छ। काठमाडौं स्टिल प्रालिका प्रमुख कार्यकारी अधिृकत केशव पोखरेलले नेपालमा अहिले अरू उद्योगहरूले ल्याइरहेको प्रविधि र नयाँ प्लान्टमा प्रयोग हुने प्रविधि एउटै स्तरको भएको बताए।

उनले भने, ‘तर हाम्रो नयाँ प्रविधिको मुख्य फाइदा भनेको ग्राहकले माग गरेअनुसारको गुणस्तर र मेटेरियल हामी आफैँ उत्पादन गर्न सक्छौँ।’

कच्चा पदार्थको केमिस्ट्री नियन्त्रण गरेर ग्राहकलाई आवश्यक गुणस्तरअनुसार उत्पादन गर्न सकिने उनले बताए।

‘भारतको निप्पन स्टिल वा टाटाले उत्पादन गर्ने स्तरको गुणस्तरको मेटेरियल बनाउन सक्ने क्षमताको प्लान्ट जडान भएको छ’, उनले भने।

 

 

अहिले निर्माण परियोजनामा छडको प्रयोग गर्दा डन्डीलाई बाइन्डिङ वायरले बाँधेर जोड्नुपर्ने बाध्यता छ। तर, अब भने डन्डी जोड्न तारले बाँध्नुपर्ने बाध्यता हट्ने भएको छ। काठमाडौं स्टिलले डन्डी जोड्नको लागि कपलर बनाउने प्लान्ट पनि जडान गरेको छ।

‘रि–इन्जिनियरिङ गरेको नयाँ प्रविधिको कपलर बनाउन सक्ने भएका छौँ। यो नेपालमै पहिलो पटक काठमाडौं स्टिलले उत्पादन गर्न लागेको हो। यसअघि हामीले नै न्युजिल्यान्डबाट कपलर ल्याएर बिक्री गरिरहेका थियौँ। अब नेपालमै उत्पादन हुन्छ’, पोखरेलले भने।

कपलर प्रयोग गर्दा एउटा डन्डीलाई अर्को डन्डीसँग सिधै जोड्न सकिन्छ। जहाँ आवश्यक हुन्छ, त्यहीँ डन्डी काटेर कपलर लगाएर जोडिन्छ। यसका लागि डन्डीमा छुट्टै चुरी काट्ने वा तारले बाँध्ने गर्नुपर्दैन।

डन्डी जोड्नका लागि तारले बाध्नुपर्ने झन्झट हटेपछि टुक्रा रड खेर जाने समस्याको पनि समाधान हुनेछ।

‘कन्स्ट्रक्सन कम्पनीमा डन्डी काट्दा वा टुक्रा पर्दा खेर जाने सामग्रीमध्ये करिब ८० प्रतिशतसम्म बचत गर्न सकिन्छ। यसले निर्माण लागत प्रभावकारी बनाउन र काम गर्न पनि सहज हुन्छ। कपलर प्रयोग गरिएका जोइन्ट डन्डीभन्दा दुई गुणासम्म बलियो हुन्छ’, पोखरेलले भने।

पुल तथा अन्य ठूला संरचना निर्माणमा यो प्रविधिले विशेष फाइदा पुर्‍याउने उनी बताउँछन्।
उदाहरण दिँदै पोखरेल भन्छन्, ‘कुनै पुलको एउटा सेग्मेन्ट ३० फिटको छ। बजारमा डन्डीको लम्बाइ ४० फिटको हुन्छ। बाँकी १० फिटको टुक्रा खेर जाने अवस्था हुन्छ। कपलर प्रयोग गरेपछि आवश्यकताअनुसार डन्डी जोड्न सकिने भएकाले यस्तो वेस्टेज घटाउन सकिन्छ।’

कपलर अन्तर्राष्ट्रिय रूपमा स्वीकृत प्रविधि हो। यसको भारतीय स्ट्यान्डर्ड (आईएस) समेत छ। नेपालमा भने यसका लागि छुट्टै राष्ट्रिय मापदण्ड छैन। काठमाडौं स्टिलले गुणस्तर विभागमा कपलरको मापदण्ड बनाउन पहल गरिरहेको पोखरेलले बताए।

काठमाडौं स्टिल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा प्रत्यक्ष रूपमा करिब ६ सय जनाले रोजगारी पाउनेछन्। अप्रत्यक्ष रोजगारीसमेत जोड्दा कुल रोजगारी करिब १ हजार ४ सयदेखि १ हजार ५ सय जनासम्म पुग्ने अपेक्षा रहेको पोखरेल बताउँछन्।

काठमाडौं स्टिलको उत्पादन खपतको लागि बजारको समस्या नभएको श्रेष्ठको भनाइ छ।

भाटभटेनी सुपरस्टोरका प्रवर्द्धक मीनबहादुर गुरूङसहित व्यवसायीहरू उमेश श्रेष्ठ, किरणकुमार श्रेष्ठ, रामकृष्ण खतिवडा, राजेश श्रेष्ठले विभिन्न परियोजनाहरुमा संयुक्त लगानी गरिरहेका छन्। काठमाडौं स्टिलमा पनि उनीहरुकै लगानी छ।

त्यसबाहेक, उनीहरूले दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल निर्माण गर्दै छन्। उदयपुरमा १ हजार मेगावाटको सोलार परियोजना अघि बढाएका छन्। भैरहवामा गार्मेन्ट गियर सञ्चालनको अन्तिम तयारीमा छ। चितवनमा एग्री–वस्तु भनेर कृषिको बहुउद्देश्यीय गोदाम बनिरहेको छ। त्यसैगरी, प्रसारणलाइन, जलविद्युत् आयोजना र अस्पतालमा उनीहरुले लगानी विस्तार गरिरहेका छन्।

‘हाम्रो डिलर नेटवर्क पहिले नै स्थापित छ। त्यसैले उत्पादन बढेपछि बजार विस्तारका लागि छुट्टै ठूलो समस्या हुने देख्दैनौँ। उत्पादन राम्रो भएपछि हाम्रो नेटवर्क पनि स्वाभाविक रूपमा अझ बलियो हुन्छ’, श्रेष्ठले भने, ‘हाम्रा आफ्नै इन–हाउस परियोजना पनि छन् तर हाम्रो उत्पादनको मुख्य बजार नेपालका हाइड्रोपावर परियोजना, पुल निर्माण, ठूला मल्टिस्टोरी भवन तथा अन्य ठूला संरचना निर्माण गर्ने कम्पनीदेखि व्यक्तिगत घर निर्माण गर्ने ग्राहकसम्म हो।’

त्यसबाहेक, सरकारले ठूला पूर्वाधार परियोजना अघि बढाउने घोषणा गरेकाले पनि आफूहरु उत्साहित भएको श्रेष्ठले बताए।

‘अहिले धेरै रोकिएका परियोजनाहरू पुनः सुरु हुने अपेक्षा गरेका छौँ। बजेट र सरकारको नीतिले संरचना तथा पूर्वाधार निर्माणका ठूला परियोजनालाई अगाडि बढाउने संकेत गरेको छ। सरकारको नीतिअनुसार पूर्वाधार निर्माणका गतिविधि बढेमा स्टिलको माग पनि बढ्ने हाम्रो अपेक्षा छ। यही कारणले हामीले अहिले प्लान्ट विस्तार गरेका हौँ’, श्रेष्ठले भने।
LINK

Join the Discussion

On “डेढ अर्ब लगानी थपेर तयार भयो काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सय जनालाई रोजगारी”

Write a comment

No comments yet — be the first to share your thoughts.

Leave a Comment

Your email address will not be published. Required fields are marked with an asterisk.